नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त रंगशालाको हरिबिजोक, हिलो रंगशालामा नै होला त साफ यू–२० च्याम्पियनसिप ?


काठमाडौं– पछिल्लो समय हिलाम्मे दशरथ रंगशालामा भएको खेलको चर्चा भइरहेको छ । मंगलबार एएफसी च्यालेन्ज लिग प्लेअफ अन्तर्गत चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको पारो फुटबल क्लबबीचको खेल दशरथ रंगशालामा भयो ।

दिउँसो करिब एक घण्टाजति पानी परेपछि हिलो बनेको मैदानमा खेलाडीहरुले सकसपूर्ण खेल खेले । खेल भइरहेको क्रममा खेल हेरिरहेका दर्शकले खेलाडीहरु नचिनिने गरि हिलोले पोतिएका थिए । रंगशालामा हिलोका कारण बल पनि मुस्किलले गुडेको थियो । चिप्लिएर खेलाडी मैदानमा पटक पटक लडिरहेका थिए । खेलाडीहरु लड्दा दर्शकलाई खेलाडीलाई चोट लाग्ने हो की भन्ने चिन्ता बढ्थ्यो । हिलो मैदानको बाबजुद पारोले चर्च ब्वाइजलाई २–१ ले हराउँदै च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गर्यो ।

उसो त दशरथ रंगशालालाई देखेर भुटानको पारो एफसीबाट खेल्न आएका चर्चित जापानी सुपरस्टार खेलाडी कोइसुके होन्डाले खेल अभ्यासका क्रममा नै आफ्नो खेलाडी जिवनकै खत्तम रंगशाला भएको संज्ञा दिएका थिए ।

नेपालले अन्तराष्ट्रिय फुटबल खेलमा सहभागीता जनाउन थालेको ४० वर्षभन्दा बढी भइसकेको छ । सन् १९८२ बाट अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको नेपालले हालसम्म गतिलो फुटबल मैदान बनाउन सकेको छैन । मंगलबार खेल भएको दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको खेल मैदान हो ।

तर यो मैदानको अवस्था पनि हरिबिजोग छ । मंगलबार साँझ ६ बजेबाट खेल सुरु भएको थियो । त्यसको करिब दुईघण्टा पहिले काठमाडौंमा मुसलधारे पानी पर्यो । लामो समयपछि फुटबल खेल हेर्न पाँचहजार भन्दा बढी दर्शक रंगशालामा पुगेका थिए । तर पानी परेपछि मैदानको बिजोग र खेलाडीहरुको अवस्था देखेर खेलबाट मनोरञ्जन लिनुको सट्टामा लाजले पानी पानी भएर फर्किए ।

यसअघि एसियाली फुटबल महासंघले एएफसीले नेपालको फुटबल मैदानको मापदण्ड नपुगेको भनेपछि गत चैतमा भएको विश्वकप छनौटअन्तर्गतको खेलमा नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको थियो । विश्वकप छनौट अन्तर्गतको खेल घरेलु मैदानमा खेल्न पाउने सुविधा हुँदाहुँदै पनि नेपालले मैदान गतिलो नभएकै कारणमा युएईमा गएर खेलेको थियो ।

२०१३ सालमा निर्माण भएको दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषद् राखेपको मातहतमा रंगशाला छ । त्यहाँ राखेपले फुटबल बाहेकका खेल पनि खेलाउनेगर्छ । फुटबल खेलाउने अखिल नेपाल फुटबल संघ एन्फा भएपनि पूर्ण रुपमा रंगशाला एन्फाको स्वामित्वमा छैन । यी दुई संघबिच टकरावका कारण मैदानको मर्मत तथा पुन निर्माण हुन सकेको छैन ।

अब तीन दिनपछि यही दशरथ रंगशालमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अन्तर्गत यू–२० च्याम्पियनसिप हुँदैछ । आइतवार सुरु हुने च्याम्पियनमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । खेल १० दिनसम्म चल्नेछ ।

तर मंगलबार दशरथ रंगशालाको अवस्थाका कारण यो खेल हुने वा नहुनेमा शंका बढेको छ । खेल भएमा नेपाली खेल समर्थकहरु फेरीपनि मैदानमा पुगेर लज्जित हुनुपर्नेमा चिन्तित छन् ।