युक्रेनको ड्रोन हमलाबाट रुसको तेल भण्डारणमा भिषण आगोलागी

1k
Shares

एजेन्सी– युक्रेनले रुसको एक तेल भण्डारणमा आक्रमण गरेको छ । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ ।

उक्त भिडियो सामाजिक सञ्जालमा प्रकाशित भएको छ । भिडियोमा आगो लागेको देखिएपछि प्रोलेटार्सक सहरमा बाक्लो कालो धुवाँ र आगोको मुस्लो निस्किएको स्थानीय गभर्नर भासिली गेलबेभले बताएका छन् ।

‘रोस्तोभ क्षेत्रको दक्षिणपूर्वमा हवाई सुरक्षाले एउटा ड्रोन आक्रमणलाई विफल बनाएको छ, प्रोलेटार्सकमा औद्योगिक भण्डार केन्द्रहरूको क्षेत्रमा ड्रोन खसेपछि डिजेल इन्धनमा आगो लाग्यो,’ गभर्नर भासिली गेलबेभले टेलिग्राममा भने, ‘स्थानीय समयानुसार बिहान पाँच बजेर ३५ मिनेटमा अर्को ड्रोन आक्रमणका कारण प्रोलेटार्सकमा औद्योगिक सुविधामा अग्नि नियन्त्रण निलम्बित गरिएको थियो ।’

उक्त आक्रमणमा मानवीय क्षति भने नभएको बताइएको छ । युक्रेनले आक्रमण गरेको प्रोलेटार्सक क्षेत्र युक्रेनी सीमाबाट करिब दुई सय ५० किलोमिटर टाढा छ ।

रुसी रक्षा मन्त्रालयले रातभरमा पाँच युक्रेनी ड्रोनलाई खसाएको बताएको छ । ती ड्रोनमध्ये दुई वटा रोस्तोभ क्षेत्रमा थिए । सन् २०२२ मा द्वन्द्व सुरु भएयता युक्रेनी सेनाले आफ्नो सीमाहरूबाट करिब सयौँ किलोमिटर टाढा रुसमा तेल र ग्यास सुविधाहरूमा बारम्बार निशाना बनाएको छ । यसलाई युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा आक्रमणको ‘उचित’ प्रतिशोध भनेको छ ।

यसै महिनाको सुरुमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गरेकामा आफ्ना सेनाको प्रशंसा गर्दै आक्रमणले द्वन्द्वलाई ‘उचित अन्त्य’ गर्न मद्दत पुग्ने बताएका थिए । केहि दिन अघि युक्रेनले रुसको क्रुस्क क्षेत्रमा अभूतपूर्व सीमापार आक्रमण गरेको थियो । युक्रेनले क्रुस्क क्षेत्रमा ८० भन्दा धेरै बस्ती नियन्त्रण गरेको दाबी गरेको छ ।