मानव शरिर भित्र छिरेर यसको काम हेर्न सकिने नेरदल्यान्डस्को अद्भुत म्युजियम


काठमाडौं– तपाईलाई आफ्नो शरिरको भ्रमण गर्न मन छ ?  मुटुले कसरी काम गर्छ, मस्तिष्कमा के के छन्, कानले कसरी सुन्छ होला? यी सबै कुरा मानव शरिरभित्रको यात्रा गरेर थाहा पाउन सकिन्छ । तर यसका लागि भने नेदरल्यान्ड्स जानुपर्ने हुन्छ ।

मानव शरिर र यसका कार्यहरुका बारेमा विद्यालय स्तरदेखिनै पढिन्छ । तर नेरदल्यान्डस्को कर्पस म्युजियममा मानव शरिरको यात्रा गर्न सकिन्छ । मानव शरिरको भ्रमण गराउने हालसम्मकै एक्लो यस म्युजियमको अवलोकनमा जानेहरुले मानव शरिरका अङ्गहरुको बारेमा प्रत्यक्ष अवलोक गर्न र बुझ्न पाउँछन्।

ल्याटिन भाषामा शरिरलाई कर्पस भनिन्छ, त्यसैले यो म्युजियमको नाम कर्पस म्युजियम राखिएको हो । सन् २००८ मा स्थापना भएको यो म्युजियम नेदरल्यान्डसको साउथ होल्यान्ड प्रान्तमा पर्छ ।

मानव शरीरले कसरी काम गर्छ। गीत संगीत सुन्दा हाम्रो कानमा के हुन्छ? मानव शरीरको कमान्ड सेन्टर कहाँ छ लगायतका कुरा यो म्युजियमा अनुभव गर्न सक्छिन् ।

म्युजियममा मानव शरीरको यात्रा गर्दै यसले कसरि काम गर्छ भन्ने हेर्न, सुन्न र महसुस गर्न सकिन्छ । फाइभ डी हार्ट थियटरमा शरिरको रक्त कोशिका यात्रा लिन सकिन्छ । फोक्सोमा सास फेर्न, कानको बाटो हिंड्न तथा मस्तिष्क हेर्न सकिन्छ ।

६ वर्ष भन्दा माथी उमेर समुहका मानिसहरुले यो म्युजियमको भ्रमण गर्न सक्छन् । म्युजियममा प्रवेश गरेपछि एस्केलेटर मार्फत मानिसको घुँडामा प्रवेश गरेर मानव शरिरको यात्रा सुरु हुन्छ । यो यात्रा मस्तिष्कमा पुगेर सकिन्छ ।

यात्रालाई सहज बनाउन अडियो भ्रमणको समेत व्यवस्था मिलाइएको हुन्छ । म्युजियममा डच, अंग्रेजी, जर्मन, फ्रान्सेली, स्पेनिश, इटालियन, रूसी र चिनियाँ भाषामा उपलब्ध अडियो भ्रमण समेत उपलब्ध गराइएको हुन्छ ।