रोनाल्डोको फेरी नयाँ रेकर्ड, सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स


काठमाडौं– पोर्चुगल फुटबल टिमका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो संसारमा एक अर्ब मानिसले सामाजिक सञ्जालमा फलो गर्ने व्यक्ति बनेका छन् ।

फुटबल खेलाडी भएका कारण चर्चित उनको विश्वभर नै समर्थक रहेका छन् । विश्वभरबाट उनलाई एक अर्ब मानिसहरुले फलो गरेका हुन् । रोनाल्डो नै सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बटुल्ने पहिलो व्यक्ति बनेका छन् ।

शुक्रबार दिउँसोसम्ममा उनलाई फेसबुकमा पेजमा १७० मिलियन व्यक्तिले फलो गरेका छन् । इन्स्टाग्राममा ६३८ मिलियनले फलो गरेका छन् । सामाजिक सञ्जाल एक्समा ११३ मिलियन जोडिएका छन् भने रोनाल्डोको युटुब च्यानललाई ६०.५ मिलियनले सब्स्क्राइब गरेका छन् ।

रोनाल्डोले आफ्नो एक अर्ब फलोअर्स पुगेको खुसी सामाजिक सञ्जाल एक्समार्फत बाँडेका छन् । उनले भावुक स्टाटस लेख्दै यस्तो जानकारी गराएका हुन् । रोनाल्डोले लेखेका छन्, ‘हामीले इतिहास बनायौँ । एक अर्ब फलोअर्स । यो संख्या मात्र होइन, यो हाम्रो साझा जोश, उत्साह र खेल र बाहिरका लागि प्रेमको प्रमाण हो । मडेइराको सडकबाट संसारको सबैभन्दा ठूलो मञ्चसम्म, मैले सधैँ मेरो परिवार र तपाईंका लागि खेलेको छु, अब हामी एक बिलियन सँगै उभिन्छौँ ।’

रोनाल्डोले केही समयअघि मात्र  युट्युब च्यानल पनि खोलेका छन् । उनको युटुब च्यानलमा एक घण्टाभित्रै १० लाख मानिस जोडिएका थिए ।