काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रृंखला आजदेखि क्यानडामा शुरू हुँदैछ । नेपालसहित क्यानडा र ओमानबीच हुने त्रिदेशीय एक दिवसीय किकेट श्रृंखलाको उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग खेल्दैछ ।
नेपाल र क्यानाडाको खेल किङ सीटीमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ । लिग– २ को पहिलो सिरिजमा घरेलु मैदानमा खराब प्रदर्शन गरेको नेपाललाई यी खेलहरू जित्नै पर्ने दबाब छ ।
तालिकाअनुसार नेपालले दोस्रो खेल पर्सि असोज २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।
यो श्रृङ्खला सकिएको २ दिनपछि असोज १२ देखि १७ गतेसम्म तीनवटै टोलीबीच टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला हुँदैछ ।
विश्वकप लिग २ मा ८ खेल खेलेको नेदरल्याण्डस् १२ अंकसहित शीर्ष स्थानमा छ । ७ खेल खेलेको स्कटल्याण्ड ४ मा जीत र २ मा हारसहित ९ अंक जोड्दै दोस्रो स्थानमा छ । ८ अंक भएको क्यानडा तेस्रो स्थानमा छ । समान खेल र समान नतिजासहित नामिबिया चौथो स्थानमा छ ।
४ अंकको अमेरिका पाँचौ स्थानमा छ । ३ अंकको ओमान छैटौ तथा २ अंकको नेपाल साँतौ स्थानमा छ । यी दुवै टोलीले समान चार खेलेका छन् । ३ खेलमा ३ वटै खेलमा हार भोगेको युएई अंक तालिकाको पुछारमा छ ।
प्रतिक्रिया