Logo

ओडिआईमा क्यानडासँग नेपाल पहिलोपटक पराजित

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ को क्यानडामा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ ।

क्यानडाको किङ्ग सिटीमा भएको खेलमा क्यानडासँग नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भयो । क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा अल आउट हुँदै १ सय ५० रनमात्र जोड्न सकेको हो ।

ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले सबै खेल जितेको थियो ।

विश्वकप २०२७ को छनोटको रुपमा रहेको लिग टु मा ८ टोलीको सहभागीता रहेको छ । जितसँगै क्यानडा भने ८ खेलमा ५ जित र ४ हारका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाल ४ खेलमा १ जित र ४ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । यूएई ३ खेलमा विना अंक पुछारमा छ ।

लिग टुमा सहभागी हरेक राष्ट्रले ३६ वटा ओडिआई खेल्नेछन् । अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ ।

 

प्रतिक्रिया दिनुहोस्