Logo

रविले सहकारी ठगीमा क्लिन चिट पाएको भनेपछि शंकर पोखरेलको व्यङग्यः वैकल्पिक राजनीतिले दिन खोजेको विकल्प स्पष्ट भयो

काठमाडौं– एमालेका मुख्यसचिव शंकर पोखरेलले वैकल्पिक राजनीतिले दिन खोजेको विकल्प र सुशासन स्पष्ट भएको भन्दै व्यङग्य हानेका छन् ।

सहकारी ठगीसम्बन्धि छानबिन गर्न बनेको विशेष संसदीय छानबिन समितिको प्रतिवेदपछि रास्वपा सभापति रवि लामिछानेले आफुले क्लिन चिट पाएको बताइरहेको समयमा सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले लेखेका छन्, ‘ कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’

संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ । जुन रकम रवि लामिछाने गोरखा मिडियाको प्रबन्ध निर्देशक रहेको समयमा खर्च भएको थियो । तीमध्ये एउटा चेकबाहेक अन्य रविले गरेका छन् । उक्त रकम सहकारीबाट ल्याउनमा रविको संलग्नता नदेखिएपनि खर्च गर्नमा उनको संलग्नता रहेको समितिले निष्कर्श निकालेको छ ।

शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका रवि कम्पनीमा प्राप्त हुने रकमको जिम्मेवारी र दायित्वबोधबाट भाग्न नमिल्ने समितिको ठहर छ । समितिले सहकारीबाट गोर्खा मिडियामा आएको रकममा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी र सञ्चालक सदस्य कुमार रम्तेललाई जिम्मेवार ठहर गर्दै कराबाहीका लागि सिफारिस गरेको छ । तर रवि भने समितिले आफ्नो संलग्नता नरहेको निष्कर्श निकालेको र क्लिन चिट पाएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्