Logo

गण्डकी प्रदेशस्तरीय अन्डर–१९ क्रिकेट पोखरामा सुरु

कास्की– गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि गण्डकी प्रदेशस्तरीय वाइ वाई अन्डर –१९ एक दिवसीय पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ ।

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित यही असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाको सहभागिता छ । प्रतियोगिताको समुह ‘ए’मा कास्की, पर्वत र तनहुँ र समुह ‘बी’मा नवलपुर, स्याङजा र बाग्लुङ रहेका छन् ।

उद्घाटन खेलमा घरेलु टोली कास्की र पर्वतकाबीच खेल सञ्चालन भएको छ । प्रतियोगितामा बिजेता टिमले ट्रफी तथा मेडल प्राप्त गर्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । उनका अनुसार प्रतियोगिताबाट आगामी कात्तिक १ गतेदेखि कोशी प्रदेशमा सञ्चालन हुने यू–१९ राष्ट्रिय क्रिकेटका लागि गण्डकीको टिमका खेलाडी छनोट गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्