Logo

करिब ९१ हजार विद्यार्थीले कक्षा ११ पढ्न नपाउने

काठमाडौं– करिब ९१ हजार विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न नपाउने भएका छन् । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजाअनुसार ९० हजार ८८८ अनुत्तिर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले पूरक परीक्षा दिएका थिए । सोमध्ये ५६.७८ प्रतिशत अर्थात १ लाख १९ हजार ४२५ जना पास भएका छन् । पुरक परीक्षामा ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८८८ जना रहेका छन् भने ८ जनाको उत्तरपुस्तिका रद्द भएको छ ।

नतिजा अनुसार ३.६१ देखि ४ जिपिए ल्याउने १८ जना छन् । १.६ देखि २.० जिपिए ल्याउने ६४ जना, २.०१ देखि २.४ जिपिए ल्याउने १९ हजार ४९६ जना, २.४१ देखि २.८० जिपिए ल्याउने ७४ हजार ४०६ जना रहेका छन् । त्यस्तै २.८१ देखि ३.० जिपिए ल्याउने २३ हजार ६२३ जना छन् भने जिपिए ३.१ देखि ३.६ ल्याउने १ हजार ५१८ जना रहेका छन्।

लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह् सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ। जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ। दुई वटा विषयसम्म ३५ प्रतिशत भन्दा कम ल्याएका विद्यार्थीले एसइईको पुरक परिक्षा दिन पाउने व्यवस्था छ ।

२०८० मा सञ्चालित एसईईको नियमित परीक्षामा पनि ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । ५२.१४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि सरकारले दुईभन्दा बढी विषयमा अनुत्तीर्ण विद्यार्थीहरुले पनि परिक्षा दिन पाउने निर्णय गरेको थियो ।

सो अनुसार एसइईको ग्रेडवृद्धी परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो । यो परीक्षाको नतिजामा कुनै विषयमा ननग्रेड (एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि परिक्षा दिन पाइन्छ । तीन वर्षसम्ममा पास गर्न नसकेमा पुन सबै विषयको परिक्षा दिनुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्