Logo

आइसिसी ओडिआई अल राउन्डर वरियतामा सन्दीप लामिछाने २२ स्थान सुधार

काठमाडौं– आइसिसीको पुरुष ओडिआई अल राउन्डर वरियतामा नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने २२ स्थान माथि उक्लिएका छन् । आइसिसीले वरियताको पछिल्लो अपडेट मंगलबार गरेको थियो । जसअनुसार सन्दीप ओडिआई अल रान्डरको वरियतामा २२ स्थान माथी उक्लिँदै ४३ औँ स्थानमा पुगेका छन् ।

पछिल्लो समयमा लिग २ अन्तर्गतको खेलहरुमा नेपाली ब्याटरहरु नचलिरहँदा स्पिनर सन्दीपले भने राम्रो प्रदर्शन गरिरहेका छन् । आइतबार क्यानडासँग भएको ओडिआईमा सन्दीपले ४८ बलमा ४९ रन जोड्दै नेपालका लागि सर्वाधिक रन बनाएका थिए । सो अंक उनको ओडिआईमा उत्कृष्ट ब्याटिङ थियो । सोही खेलमा उनले दुई विकेट लिएका थिए ।

राइट ह्यान्ड ब्याटर दिपेन्द्र सिंह ऐरी भने वरियतामा ६ स्थान झर्दै ४८ औँ स्थानमा पुगेका छन् । अल राउन्डर विश्व वरियतामा कुशल मल्ला ७ स्थान झर्दै ५१ औँ स्थानमा सिमित भएका छन् । सोमपाल कामी ५३ स्थानमा स्थीर छन्।

यस्तै करण केसी ११ स्थान उक्लिँदै ७६ औँ स्थानमा छन् । गुल्सन झा पनि पहिलोपटक विश्व वरियताको टप १०० मा पर्न सफल भएका छन् । उनी ९१ औँ स्थानमा छन् । यस्तै ललित राजबंशी विश्व वरियतामा एक स्थान उक्लिँदै ९५ औँ स्थानमा कायम भएका छन् ।

अलराउन्डर वरियताको पहिलो स्थानमा अफगानस्थानका मोहम्बद नाबी रहेका छन् । दोस्रोमा बंगलादेशका शाकिब अल हजस रहेका छन् भने तेस्रोमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्