बाढीपहिरोबाट १७ अर्ब रुपैयाँबराबरको क्षति भएको सरकारको प्रारम्भिक अनुमान
काठमाडौं– सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् ।
उनका अनुसार बाढी र पहिरोका कारण हालसम्म २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् । यो समयमा आएको बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ ।
कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने उनले जानकारी दिएका छन् । खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना रहेको उनले बताएका छन् । घरबारविहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिएका छन् ।