Logo

दीपेन्द्र सिंह ऐरीलाई ठूलो सफलता, टि–२० अलराउन्डर विश्व वरियातामा दोस्रो स्थान हाँसिल

काठमाडौं– अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) को टि–२० अलराउन्डर विश्व वरियातामा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई ठूलो सफलता मिलेको छ । उनी टि–२० अल राउन्डर वरियतामा विश्वकै दोस्रो नम्बरमा आएका छन् ।

आइसिसीले मंगलबार गरेको पछिल्लो अपडेटअनुसार दीपेन्द्र आफ्नो पछिल्लो वरियताभन्दा ४ स्थान सुधार गर्दै दोस्रो स्थानमा पुगेका हुन् । यसअघि उनी छैठौँ स्थानमा रहेका थिए ।

टि–२० विश्व अल राउन्डर वरियतामा नेपालका कुशल मल्ल विश्व वरियताबाट ६ स्थान खस्कँदै ४० औँ स्थानमा छन् । यस्तै नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ५४ औँ स्थानमा यथावत् छन् ।
गुल्सन झाले ११ स्थान सुधार गर्दै ५६ स्थानमा, कुशल भुर्तेलले वरियतामा ६ स्थान सुधार गर्दै ६० औ स्थानमा रहेका छन् । यस्तै करण केसी ७१ औँ स्थानमा यथावत् रहेका छन् । विश्व वरियताको पहिलो स्थानमा इङल्यान्डका लिआन लिभिङ्स्टन यथावत् छन् भने तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस छन् ।

यतिबेला नेपाली क्रिकेट टोली क्यानडामा जारी त्रिदेशीय टि–२० खेल खेलिरहेको छ । खेलमा नेपाल, क्यानडा र ओमान एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । आज क्यानडाको माप्ले लिफ क्रिकेट मैदानमा ओमानसँग खेल खेलेपछि यो सिरिज सक्किनेछ ।

खेल सक्किए लगत्तै अमेरिकामा आईसिसि विश्वकप लिग–२ अन्तर्गत ओडिआई खेल्न टोली अमेरिका जानेछ । ओडिआईमा अमेरिका, स्कटल्यान्ड र नेपाल सहभागी हुनेछन् । ओडिआई सक्किएपछि यी तीन देशबिच टि–२० सिरिजमा समेत प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्