Logo

कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा नेपाल ओमानलाई पराजित गर्न सफल

काठमाडौं– क्यानडामा जारी त्रिकोणात्मक टि–२० अन्तराष्ट्रिय सिरिजमा बुधवार नेपालले ओमानलाई ५६ रनले हराएको छ।

म्याप्ल लिफ नर्थ वेस्ट ग्राउन्डमा भएको खेलमा नेपालले ओमानलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओमानले १७.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमात्र बनाउन सक्यो ।

ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा २ चौका र ४ छक्कासहित ५६ रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए ।

ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी १, गुल्सन झा २ र कुशल भुर्तेल ११ रनमा आउट भए ।

ओमानका फयाज बटले, ३ कलिमुल्लाह, सकिल अहमद र अकिब इलियासले १-१ विकेट लिए ।

टि–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल क्यानडासँग ४ विकेटले हारेको थियो ।

नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। ओमान १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ ।

आज ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा ओमान विजयी भएमा नेट रनरेटका कारण नेपाल च्याम्पियन बन्ने समिकरण देखिन्छ । नेपालले अब क्यानडा ए सँग ४, ६ र ८ अक्टोबरमा तीन एकदिवसीय अभयास खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्