Logo

एनपिएल अक्सनमा सर्वाधिक मूल्यमा बिक्री भएका १२ खेलाडी कुन कुन टोलीमा पुगे?

काठमाडौं– अर्को महिना काठमाडौंमा हुने नेपाल प्रिमियर लिगको पहिलो चरणको खेलाडी छनोटको काम सकिएको छ । आइतबार काठमाडौंमा भएको अक्सनमा ८ वटा फ्रेन्चाइज टिमले १० जनाको दरले कूल ८० जना खेलाडी छनोट गरेका छन् ।

बोलकवलमार्फत भएको खेलाडी छनाटेमा प्रत्येक टिमले ए ग्रेडका ३ जना, बी ग्रेडका ४ जना र सी ग्रेडका तीन जना गरि १० जना खेलाडी छनोट गरिएको हो । अक्सनबाट १२ खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख तोकिएको थियो । त्यसमा १२ जना खेलाडी अधिकतम मूल्यमा बिक्री भएका हुन् ।

ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरीलाई २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको थियो। जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रुपैयासम्म मूल्य तोकिएको थियो।

पहिलो चरणको अक्सन सकिँदा प्रत्येक टिमसँग ११ जना खेलाडी भएका छन् । एक जना यसअघि नै मार्कि खेलाडीको रुपमा प्रत्येक टिमले पाइसकेका छन् । अब सबै टिमले ४–४ जना विदेशी खेलाडी भित्र्याउन पाउनेछन् । जसमा एक जना टेष्ट राष्ट्रको हुनु पर्नेछ भने, अन्य थप एक जना स्थानीय खेलाडी गरेर कूल १६ जनाको टिम बन्नेछ ।

सर्वाधिक महंगोमा बिक्री भए यी खेलाडी
आइतबार भएको अक्सनमा १२ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् । ती मध्ये लुम्बिनी लायन्सले सर्वाधिक तीन जना, जनकपुर बोल्ट्स, विराटनगर किंस, काठमाडौं गोर्खाजले समान दुई जना सर्वाधिक मुल्यमा खरिद गरेको छ । यस्तै, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सले एक एक जना खेलाडी सर्वाधिक मूल्यमा खरिद गरेको छ । चितवन राइनोजले भने कुनैपनि खेलाडी सर्वाधिक मूल्यमा खरिद गरेको छैन ।

अधिकतम मूल्यमा बिक्री भएका अनिल कुमार साह र ललित राजवंशी जनकपुर बोल्ट्समा पुगेका छन् । यस टोलीको मार्की खेलाडी आसिफ शेख रहेका छन् । सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्समा गुलशन कुमार झा पुगेका छन् । दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सले सर्वाधिक मूल्यमा आरिफ शेख खरिद गरेको छ ।

यस्तै नेपाली क्रिकेट टोलीको कप्तानसमेत रहेका रोहित कुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनी लायन्सले तीन खेलाडीलाई सर्वाधिक मूल्यमा खरिद गरेको छ । यो टोलीमा सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा छन् । कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखरा एभेन्जर्सले सागर ढकाललाई सर्वाधिक मूल्यमा खरिद गरेको छ ।

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्समा प्रतिश जीसी, लोकेश बम पुगेक छन् । यस्तै करण केसी मार्की खेलाडी रहेको काठमाडौं गोर्खाजले सर्वाधिक मूल्यमा शाहब आलम र भीम शार्की खरिद गरेको छ ।

पहिलो पटकहुन लागेको नेपाल प्रिमियर लिग नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्