रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी आजै एक्सनमा जान सक्ने

29.3k
Shares

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकनिकट उच्च स्रोतले जनाएअनुसार प्रहरीले लामिछानेलाई आजै पक्राउ गर्नेगरि तयारी थालेको छ । यसअघि दशैंअघि पनि लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली परिचालित भएको थियो । त्यसको विरोधमा लामिछानेले पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भेला पारेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली देशबाहिर भएको बेलामा पक्राउ गर्दा पार्टीलाई असर पर्ने भएपछि गृहमन्त्री लेखक त्यतिवेला ब्याक भएको चर्चा छ । प्रधानमन्त्री फर्किएलगत्तै मुलुकले बाढी, पहिरोबाट उत्पन्न विपत्तिको सामना गर्नुपरेको थियो । त्यसलगत्तै दशैं सुरु भएकोले लामिछानेलाई पक्राउ गर्ने काम थाँती रहेको जनाईएको छ ।

अहिले दशैंको बिदा सकिएको र कार्यालयपनि सुचारु हुन थालेकाले कांग्रेस र एमालेका शीर्ष नेताहरु बसेर यो कदम चाल्न लागेका हुन् । गृहमन्त्री लेखकले प्रहरी नेतृत्वलाई तत्काल एक्शन लिन निर्देशन दिएको बताइएको छ ।

सहकारी छानबिनको लागि गठन गरिएको संसदीय समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशीलाई सहकारीबाट आएको रकमको प्रयोगमा जिम्मेवार रहेको भन्दै कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेको थियो ।

सहकारी ठगी प्रकरणमै छविलाल जोशी पक्राउ परिसकेका छन् । उनी यतिवेला काँस्की प्रहरीको हिरासतमा छन् । उनीमाथि अदालतमा मुद्दा दर्ताको तयारी छ । यसैबिच सोहि प्रकरणमा लामिछानेलाई पक्राउको लागि प्रहरीले तयारी थालेको हो ।