काठमाडौँ । चीनसँग सम्बन्ध सुधार गर्ने प्रयासका लागि परिचित जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ । उनको निधन अक्टोबर २२ मा भएको जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका एक अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।
फुकुदाले सन् २००७ सेप्टेम्बरदेखि सन् २००८ सेप्टेम्बरसम्म जापानको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनले १२ महिनामै प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेलाई प्रतिस्थापन गरेका थिए ।
प्रधानमन्त्री रहँदा फुकुदाले चीनसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेका थिए । उनले तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई जापान भ्रमणको निमन्त्रणा दिएका थिए । सन् २००८ मेमा भएको उक्त भ्रमण एक दशकपछि कुनै चिनियाँ राष्ट्रप्रमुखले जापानको भ्रमण गरेको पहिलो अवसर थियो ।
भ्रमणका क्रममा दुवै नेताले ‘साझा रणनीतिक हितमा आधारित पारस्परिक लाभदायक सम्बन्ध’ निर्माण गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्य जारी गरेका थिए । जापान र चीनबीचको कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउने प्रयासमा उक्त भ्रमणलाई महत्त्वपूर्ण मानिन्छ ।
लोकप्रियता घट्दै गएपछि फुकुदाले सन् २००८ सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सन् २०१२ मा उनले सक्रिय राजनीतिबाट अवकाश लिएका थिए ।
जापान र चीनबीच विवादित टापु तथा ऐतिहासिक मुद्दालाई लिएर तनाव बढिरहेका बेला फुकुदा सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्न चीन पुगेका थिए । उनको पहलले सी र तत्कालीन जापानी प्रधानमन्त्री आबेबीच शिखर बैठकका लागि वातावरण बनाउन सहयोग गरेको थियो ।
















प्रतिक्रिया