Logo

नेपाल र अमेरिकाको पहिलो टि–२० आई खेलमा नेपाल विजयी

काठमाडौं– अमेरिकामा जारी टी–२० आई खेलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ । टेक्सासको ग्राण्ड प्रेरी रंगशालामा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमा २० ओभर पूरा गर्यो । अमेरिकाका लागि शायन जहानगिरले अविजित ६० रन बनाएका थिए । आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीनरतीन र सैतेजा मुक्कामल्ला २ रनमा आउट भए । हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमै एलबीडब्ल्यु आउट भए ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले समान एक÷एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान गरे ।

दीपेन्द्रसिंह ऐरीले २८ रन, ओपनर अनिल शाह र आसिफ शेखले समान २७ रन, गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे । करन केसी र आरिफ शेख शून्य रनमा आउट भए ।

अमेरिकाका लागि हरम्रीत सिंह, सौरभ नेत्रवालकरले र जसदीप सिंहले समान २ विकेट लिए । अली खान र नोष्थुश केंजिगेले समान एक÷एक विकेट लिए ।

आज भएको खेल नेपाल र अमेरिकाबिचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हो । दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुने तालिका छ ।

टी–२० सिरिज लगत्तै नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग–२ अन्तर्गतको एकदिवसीय सिरिज खेल्नेछ ।

लिग–२ मा खराब प्रदर्शन गरिरहेको नेपालका लागि यो सिरिज एकदमै महत्वपूर्ण र चूनौतीपूर्ण छ । ८ खेलमा नेपालले मात्र एक खेलमा जित हासिल गरेर नेपाल सातौँ स्थानमा छ । ८ खेलमा ६ जितसहित अमेरिका दोस्रो र ७ खेलमा ४ जितसहित स्कटल्यान्ड पाँचौं स्थानमा छ ।

विश्वकप क्वालिफायर खेल्न र एकदिवसीय मान्यता जोगाइराख्न शीर्ष ४ मा अटाउनुपर्ने हुन्छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको अमेरिका र बलियो स्कटल्यान्डलाई हराउन नेपालको लागि चुनौती रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्