Logo

डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गरे सबैभन्दा भ्रष्टचारी ठहरिने भन्दै अदालतबाट रविले पोखे आक्रोश

पोखरा– सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा उपस्थित गराइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी ओली सरकार रहिरहे जनताले धेरै दुख पाउने बताएका छन् ।

सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि जिल्ला अदालतमा पुर्याइएका रविले पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले अदालतले आफूलाई न्याय दिलाउने भन्दै न्यायलयप्रति विश्वास रहेको समेत बताएका छन् । उनले कुराकानीको क्रममा भने, ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ ।’

उनले सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको आरोपसमेत लगाएका छन् । उनले आफूलाई जस्तै गरेर डेढ वर्ष लगाएर अनुसन्धान गरेमा केपी ओली सबैभन्दा धेरै भ्रष्टचारी ठहरीने बताएका छन् । उनले भने, ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो ।’

रविले आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको बताएका छन् । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पार्टी कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्