Logo

तरकारीमा प्रयोग गर्न नै नसकिनेगरि बढ्यो गोलभेँडाको मूल्य, एक किलोको दुई सय रुपैयाँसम्म

काठमाडौं– भान्साघरमा अत्याधिक प्रयोग हुने तरकारी हो गोलभेँडा । तर पछिल्लो समयमा गोलभेँडाको भाउ आकासिएको छ । बजारमा प्रतिकिलो गोलभेँडाको मूल्य दुई सय रुपैयाँसम्म पुगेको छ ।

आइतबार कालीमाटी बजारमा ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य एक सय ३० देखि एक सय ४० रूपैयाँ पुगेको थियो । त्यस्तै, लोकल सानो गोलभेँडाको मूल्य एक सयदेखि एक सय २० रूपैयाँ छ भने लोकल टनेल गोलभेँडा एक सय १० देखि एक सय ३० रूपैयाँ तोकिएको थियो ।

हाल उपभोक्ताले गोलभेँडा प्रतिकिलो एक सय ८० देखि दुई सय रूपैयाँ तिरेर किनिरहेका छन्। यसअघि पनि समय समयमा गोलभेँडाको बजार मूल्य निकै बढ्ने गरेको थियो । तर एक किलो गोलभेँडाको दुई सय रुपैयाँ पुगेको भने पहिलोपटक हो ।

अहिले कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट २५ सयदेखि ३५ सय रूपैयाँसम्म पुगेको छ। माग अनुसारको आपूर्ति नहुँदा गोलभेँडाको मूल्य बढेको कालीमाटी तरकारी बजारका गोलभेँडा व्यापारीहरु बताउँछन् । गत असोजमा आएको बाढी र पहिरोका कारणले सडक अवरुद्ध भएको र गोलभेँडाको टनेलमा क्षति समेत पुगेकाले माग अनुसार गोलभेँडा काठमाडौंमा ल्याउन नसकिएको उनीहरुले बताएका हुन् ।

यसअघि काठमाडौं उपत्यका, चितवन, रामेछाप, धादिङ, पालुङ, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट लगायतका जिल्लाबाट कालीमाटी तरकारी बजारमा गोलभेँडा आउने गरेको थियो। तर अहिले काठमाडौं र भक्तपुरका केही ठाउँबाट गोलभेँडा आपूर्ती भइरहेको छ । उपत्यका बाहिरका जिल्लामा उत्पादन भएका गोलभेँडा त्यही खपत हुँदा काठमाडौंमा निर्यात नभएको गोलभेँडा व्यवसायीहरु बताउँछन् ।

बजारमा गोलभेँडा ठूलो, लोकल सानो र लोकल टनेल गरी तीन प्रकारको आउँछ। व्यवसायीहरूका अनुसार ठूलो गोलभेँडा होटल तथा रेष्टुरेन्टमा सलादको रूपमा प्रयोग हुन्छ। त्यस्तै, साना लोकल गोलभेँडा घरायसी रूपमा खानामा प्रयोग हुन्छ।

ठूलो गोलभेँडा भारतबाट पनि आयात गरिने भएपनि बाढीका कारण भारतमा पनि राम्रो उत्पादन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्