Logo

एनपिएलका लागि सुदुरपश्चिम रोयल्ससँग स्कटल्याण्डका अलराउन्डर ब्रान्डन म्याकमुलेन अनुबन्ध

काठमाडौं– आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विदेशी खेलाडी भित्र्याउने चटारोमा रहेका फ्रेन्चाइज टिमले धमाधमी विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन् । एनपीएलका लागि सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

सुदूरपश्चिमले आज स्कटल्याण्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलेनले अनुबन्ध गरेको छ । २५ वर्षीय ब्रान्डनले टी–२० आईका १६ खेलमा ४९७ रन बनाएका छन् । २२ ओडीआई खेलमा ब्रान्डनले ७२१ रन जोडेका छन् ।

२२ ओडीआई खेलमा ३० विकेट लिँदा टी–२० आईका १६ खेलमा २ विकेट लिएका छन् । ब्रान्डनले टी–२० आईमा सन् २०२३ जुलाई २० मा जर्मनीविरुद्ध डेब्यु गरेका थिए ।

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सले प्रशिक्षकमा भने नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक जगत टमाटालाई नियुक्त गरेको छ ।

सुदूरले पहिलो विदेशी खेलाडी भित्रयाउँदा पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडीका रूपमा नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडेलाई अनुबन्ध गरेको हो । सामाजिक सञ्जालमार्फत पोखरा एभेन्जर्सले लिडेलाई टिममा अनुबन्ध गरेको जानकारी दिएको छ । २४ वर्षीय लिडेले नेदल्यान्ड्सको राष्ट्रिय टिमबाट टी–२० आईका ३५ खेलमा ६९७ रन जोडेका छन् भने ३३ विकेट लिएका छन् ।

यसअघि पोखरा एभेन्जर्सले पहिलो विदेशी खेलाडीका रूपमा अमेरिकन ब्याटर ३० वर्षीय आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो । पोखराको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल हुन् ।

पोखराले चेन्नई सुपर किंग्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक राजीव कुमारलाई आफ्नो मुख्य प्रशिक्षक बनाएको छ । नेपाल प्रिमियर लिग १५ मंसिरदेखि ६ पुससम्म हुँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्