Logo

श्रीमतीले शारिरिक सम्पर्क राख्न नमान्दा बालिका छोरीमाथी नै पटक पटक बलात्कार

चितवन– चितवनमा एक १४ वर्षकी किशोरी बाबु देख्ने बित्तिकै डराउने गर्थिन् । बुबाको छेउमा नपर्ने र घरभित्र बुबा भए बाहिर निस्कने गर्थिन् । छोरीको यस्तो व्यवहार देखेपछि आमाले छोरीलाई के भयो भनेर सोधपुछ गरिन् ।

तर बुबाले कसैलाई भने मारिदिन्छु भनेका थिए । त्यसकारण उनले आफूमाथी भएको अमानवीय व्यवहारको बारेमा राम्रोसँग बताउन सकेकि थिइनन् । आमाले केरकार गरेपछि किशोरीले बुबाबाट पटक पटक बलात्कारको शिकार भएको कुरा आमालाई सुनाइन् ।

भरतपुर घर भएका बाबुले छोरीलाई २०७९ माघदेखि पटक पटक बलात्कार गर्दै आएका थिए । उनी श्रीमतीलाई मादक पदार्थ सेवन गरी आएर कुटपिट गर्थे । श्रीमतीले शारीरिक सम्पर्क गर्न नमानेपछि बालिका छोरीलाई जबरजस्ती गरेको ती बाबुले प्रहरीमा बयान नै दिएका छन् ।

दाजु, भाउजु, बाबुआमासहित संयुक्त परिवारमा बालिका बस्दै आएकी थिइन् । १४ वर्षीय छोरीलाई करिब पाँच वर्ष अगाडिदेखि नै शारीरिक रुपमा यौनजन्य व्यवहार गर्दै आएको खुलेको छ । उनले २०७९ माघदेखि २०८० फागुन १४ गतेसम्ममा छोरीमाथी पटक पटक बलात्कार गरेका हुन् ।

आफू अन्तिम पटक बलात्कृत भएको सात महिनापछि मात्र बालिकाले उक्त कुरा आमालाई सुनाएकी थिइन् । आफ्नै बाबुले बलात्कार गरेको खुलेपछि दाजुले चितवन प्रहरीमा जाहेरी दिएका थिए । गत असोज ६ गते चितवन प्रहरीले जाहेरी प्राप्त गरेपछि बाबुलाई हिरासतमा लिएको थियो ।

उनीविरुद्ध अनुसन्धान प्रक्रिया सम्पन्न गरि कात्तिक १ गते चितवन अदालतमा मुद्दा दर्ता भएको छ। हाडनाता करणी कसुरको अभियोग लागाएर सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो। अभियोग अनुसार हाडनाता करणी गर्ने व्यक्तिलाई जन्मकैदको कसुरको व्यवस्था नेपालको फौजदारी संहिताले गरेको छ । सोही कारबाहीको फैसला माग गर्दै मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्