‘दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं’

1.7k
Shares

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा केही मान्छे जेल जाँदैमा कसैले पनि रुवाबासी गर्न जरुरी नरहेको बताएका छन् ।

बुधबार ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री शर्माले भनेका छन् ‘काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं’ ।

उनले रास्वपाका सभापति रवि लामिछाने सहकारी काण्डमा मुछिएर पक्राउ परेपछि रास्वपाले गरेको विरोधप्रति असहमति जनाएका छन् । उनले भनेका छन् ‘स्पष्ट हौं दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता हो’ ।

आफ्नै दलका सांसद संलग्न भएर तयार पारेको प्रतिवेदनपछि रवि लामिछाने पक्राउ पर्दा राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसदकै अपमान भएको उनको भनाइ छ । ‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ–प्रचलित कानुन बमोजिम कार्वाही गर्नु । तर प्रक्रिया शुरु भएपछि राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ?’ उनले भनेका छन् ।

प्रदर्शनले न्यायालय प्रभावित गर्ने प्रयास गरेको शर्माको जिकिर छ । ‘भ्रमको प्रयास वैकल्पिक राजनीति? कि विधि उपर समेतको ठगी’ उनले भनेका छन् । गत शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै शनिबारदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आएको छ ।