Logo

नेपाली क्रिकेटमा पाकिस्तानी खेलाडीको चासो, एनपिएल खेल्न ४२ खेलाडीले पठाए नाम

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमा टेस्ट राष्ट्रहरुका खेलाडीहरुले समेत चासो देखाएका छन् । टेस्ट राष्ट्रका खेलाडीहरुले एनपिएल खेल्नका लागि एजेन्टमार्फत आफ्नो नाम नेपाल क्रिकेट संघ (क्यान)मा पठाएका छन् ।

एनपिएल खेल्न सबैभन्दा चासो भने पाकिस्तानका खेलाडीले देखाएका छन् । एनपीएल खेल्न उपलब्ध हुनसक्ने भनेर एजेन्टहरुबाट ४२ जना पाकिस्तानी खेलाडीको नाम क्यानमा आएको छ । पाकिस्तानी खेलाडीहरुमा राष्ट्रिय टीमबाट खेलिसकेका र खेलिरहेका थुप्रै खेलाडीले एनपिएल खेल्ने इन्छा देखाएका हुन् ।

एनपीएलका लागि पाकिस्तानको राष्ट्रिय टीमका ओपनर अब्दुल्ला सफिक र सइम अयुबसमेतले नाम पठाएका छन् । पाकिस्तानका चर्चित क्रिकेटरहरु सरफराज अहमद, मोहम्मद ह्यारिस, सोहैल तनभीर, सर्जिल खान, मोहम्मद हाफिज, वाहव रियाज, यासिर साह, मोहम्मद इरफानलगायतले समेत नाम पठाएका हुन् ।

पाकिस्तानका हुसैन तलातलाई एनपीएलको फ्रेन्चाइज कर्णाली एक्सले अनुबन्ध गरिसकेको छ । अन्य पाकिस्तानी खेलाडीहरु भने हालसम्म कुनै फ्रेन्चाइज टोलीसँग अनुबन्धित भइसकेका छैनन् ।

एनपीएलमा नेपाली मार्की खेलाडीहरुले बढीमा २० लाख रुपैयाँ पाएका छन् । तर विदेशी खेलाडीका लागि क्यानले कुनै पनि सीमा निर्धारण गरेको छैन । उनीहरुले जति मूल्य पनि तोक्न सक्छन् । ५० हजार डलरभन्दा बढी तोक्नेलाई ‘ए’, २५ हजार डलरभन्दा बढी तोक्नेलाई ‘बी’ र ५ हजार डलरभन्दा बढी तोक्नेलाई ‘सी’ श्रेणीमा राखेर वर्गीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्