नेपाल र बंगलादेशको खेलमा अनलाइन टिकट किन्न नमिल्ने, ११ हजार टिकटमात्र बिक्री गरिँदै


काठमाडौं– बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नमिल्ने भएको छ । खेलको टिकट भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक टिकट बिक्री गर्ने एन्फाले जनाएको हो । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले ११ हजार टिकटमात्र बिक्री गरिने जानकारी दिएका छन् । उनका अनुसार साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्न लागिएको हो ।

प्रतियोगिता हुने दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार रहेको छ । यसअघि अनलाइन टिकट खरिद गरेकाहरुको भने रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

एन्फाले एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानबाट टिकट बिक्री गरिनेसमेत जानकारी दिएको छ । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै एन्फाले टिकट लिनेमा पनि सीमितता तोकेको छ । एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन् । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ ।

आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बिक्री भएको थियो । खेल हेर्न १८ हजार भन्दा बढी दर्शक उपस्थित भएका थिए ।

फिफा नियमअनुसार रंगशालाको कुल क्षमताको २० प्रतिशत कममात्रै टिकट बिक्री गर्नुपर्ने नियम छ । तर यसअघि खेलको टिकट बिक्री गर्ने जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट प्रालिले नेपाल र भारतबिच भएको खेलको आधा समयसम्म टिकट बिक्री गरेको थियो । सोपछि एन्फाले टिकट बिक्रीमा रोक लगाएर आफैंले बेच्ने जिम्मा लिएको हो ।