काठमाडौं– आईसीसी विश्वकप लिग–२ मा ८ महिनापछि नेपालले जीत हात पारेको छ । गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टियु क्रिकेट मैदानमा जित निकालेयता खेलेको आठ खेलमा नेपालले कुनै पनि खेलमा जीत दर्ता गर्न सकेको थिएन । यसक्रमलाई तोड्दै मंगलबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेर कमब्याक गरेको हो ।
१ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५० रनको अविजित इनिङ खेले । गुलशन झा ३० बलमा ३ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे ।
यस्तै नेपालका लागि ओपनर अनिल साह १३ बनाएर आउट भए भने आसिफ शेख २१, कुशल मल्ल ७, कुशल भुर्तेल २५ र रोहित कुमार पौडेल १ रनमा आउट भए ।
स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनले २, ब्राण्ड कुरी, मार्क वाट र ज्याक जार्विसले १–१ विकेट लिए ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४१.४ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाएका थिए ।
स्कटल्यान्डका ओपनर चार्ली टिअर खाता नखोल्दै बोल्ड आउट भएका थिए भने अर्का ओपनर एन्ड्रयू उमिद १४ रनमा आउट भए । ब्रेन्डन म्याकमुलेन १६ रनमा एलबिडब्लू आउट भए भनेकप्तान रिची बेरिंग्टन र माइकल जोन्स समान १९ रनमा आउट भए ।
माइकल लिस्क १४, म्याथ्यु क्रस १५ र ज्याक जार्विस शून्यमा आउट भए । नेपालका सन्दीपले १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २ विकेट लिए । आरिफले एक विकेट हात पारे ।
यसअघि आइतबार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । लिग २ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ । नेपालले अब शनिवार अमेरिका र सोमवार स्कटल्यान्डसँग खेल्नेछ ।
स्कटल्यान्ड ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । ८ टोली सहभागी लिग २ मा शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।
प्रतिक्रिया