काठमाडौं– साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले बङ्गलादेश विरुद्ध प्रतिस्पर्धा गर्दैछ । यसका लागि नेपाली टिमलाई हौसलका साथ प्रतिस्पर्धामा उत्रन प्रोत्साहित गर्दै काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
फाइनल खेल हेर्न धेरै दर्शकहरुले इच्छा देखाएको तर खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन भएकाले प्रत्यक्ष प्रसारण गर्न लागिएको महानगरले जनाएको छ । ‘ हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदैछौँ,’ महानगरले भनेको छ ।
खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि पायक पर्ने स्थानमा जानसमेत फुटबल खेलप्रेमी दर्शकहरुलाई महानगरले अनुरोध गरेको छ ।
प्रतिक्रिया