काठमाडौं– आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्कम सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । बिहीबार दिउँसो नेपाली टिम स्वदेश फर्किएको हो ।
नेपालले लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा गरी नेपालले सिरिजमा कुल ८ खेल खेलेको थियो । जसमध्ये अमेरिकामा स्कटल्याण्डलाई जित्यो भने अन्य ५ खेलमा पराजित भयो । दुई खेल वर्षाका कारण रद्द हुँदा नेपालले थप २ अंक पाएको थियो । ८ खेलबाट सम्भावित १६ अंकमध्ये नेपालले जम्मा ४ अंक मात्र जोड्न सक्यो ।
अमेरिकामा लिग २ खेलेर फर्किएका नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टिमले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ५० ओभरको खेलमा नेपाली ब्याटरले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको बताए ।
‘जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौँ, दुवैमा चुक्यौँ । विशेषगरी क्यानडामा राम्रो भएन’, पौडेलले भने, ‘अमेरिका जाँदा टिम सेपमा आउँदै थियो तर अमेरिकासँग दुई खेल हार्यौं । टुरलाई समग्रमा भन्दा हामीले मिसआउट गर्यौँ ।’
उनले हारका बाबजुद टिमलाई सकारात्मक रूपमा अगाडि बढाउन टोलीका सबै सदस्यले सुधारका लागि राम्रो गरिरहेको उल्लेख गरे । आशा गरेजस्तो राम्रो नतिजा नआए पनि टोलीमा राम्रो बन्डिङ रहेको उनको भनाइ छ ।
कप्तान रोहितले क्यानडा भ्रमणमा बलिङ राम्रो भएपनि ब्याटरले रन जोड्न नसक्दा हार्न पुगेको बताए । ‘क्यानडाको विकेट नै एकदम चुनौतीपूर्ण थियो । अमेरिका गएपछि सबैले स्कोर गरिरहेका थिए । टी–२० र ओडीआई दुवैमा राम्रो स्कोर भएको थियो । तर क्यानडामा ब्याटिङ युनिटले राम्रो गर्न सकेनौँ त्यसमा चुक्यौँ’, उनले भने ।
प्रतिक्रिया