एनपिएलको प्रसारण अधिकार स्टार स्पोर्ट्स नेटवर्कलाई दिनेगरि पहल सुरु


काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको प्रसारण अधिकार स्टार स्पोर्ट्स नेटवर्कलाई दिनेगरि पहल सुरु भएको छ ।

एनपिएलको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुसार भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग प्रसारण अधिकारका लागि अन्तिम चरणको छलफल भइरहेको छ।

ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले नेपाल प्रिमियर लिगको प्रसारण अधिकारको लागि स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल सकारात्मक रूपमा अघि बढिरहेको दाबी गरेका छन् । यस विषयमा छिट्टै सकारात्मक नतिजा आउने उनले बताएका छन् ।

नेपाली क्रिकेट फ्यानहरू सधैं खेलको प्रसारण गुणस्तरलाई लिएर चिन्तित हुने भएकाले खेल समर्थकले खेल हेर्दाको अनुभवलाई राम्रो बनाउने विषयप्रति आफुहरु सजक रहेको उनले बताएका छन् ।

उनले भने, ‘एनपिललाई विश्वस्तरीय लिग बनाउने हाम्रो लक्ष्यमा खेलको राम्रो क्वालिटीको उत्पादन र प्रसारण अत्यन्त महत्त्वपूर्ण हुन्छ। यही कारणले हामी विश्वस्तरीय उत्पादन र प्रसारण सम्बन्धी अनुभवी कम्पनीहरूसँग छलफलमा थियौं। स्टार स्पोर्ट्ससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको छ र हामी छिट्टै सकारात्मक नतिजा सार्वजनिक गर्छौ।’

आगामी मंसिर १५ गते देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा एपिएल सुरु हुँदैछ । प्रतियोगितामा आठ टोली सहभागी रहेका छन् ।