राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै क्यानडा बसाइँ सर्ने उपाय गुगलमा खोज्दै अमेरिकी नागरिक

1.4k
Shares

काठमाडौं– अमेरिकाको आगामी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जीत निकालेसँगै अमेरिकामा गुगल सर्चमा अनौठो ट्रेण्ड देखिएको छ । ट्रम्पको जीतसँगै अमेरिकाकी नागरिकहरुमा अमेरिका छाडेर कसरी क्यानडामा सर्ने भन्दै गुगल सर्च गर्नेको क्रम ह्वात्तै बढेको हो ।

ट्रम्पको जितसँगै अमेरिकामा गुगल सर्च प्रयोगकर्तामाझ क्यानडा कसरी बसाइँ सर्ने? अर्थात् ‘हाउ टु मुभ टु क्यानडा’ भन्ने प्रश्नको जवाफ गुगल सर्चमा खोज्नेको संख्या ह्वात्तै बढेको न्युजविकको रिपोर्टले देखाएको छ । ्

अमेरिकामा राष्ट्रपति चुनाव भएको रात अमेरिका कसरी छाड्ने भन्ने विषयको गुगल सर्चमा ४०० प्रतिशतले वृद्धि भएको गुगल ट्रेण्डको डेटाले देखाएको छ । त्यसरी गुगल सर्च गर्नेहरुमा राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई सशक्त रुपमा समर्थन गर्ने क्षेत्रका नागरिकहरु सबैभन्दा धेरै रहेको छ । रिपोर्टअनुसार ह्यारिसलाई समर्थन जनाउने ओरेगन, वासिंटनलगायतका राज्यहरुका नागरिकले अमेरिका छाड्ने विषयमा सबैभन्दा धेरै गुगल सर्च गरेको पाइएको हो ।

अमेरिकामा गुगल सर्चको उक्त ट्रेण्डले राष्ट्रपति चुनावको नतिजापछि धेरै अमेरिकीहरुले क्यानडा बसाइँ सर्ने विकल्पका बारेमा सोचिरहेको बुझिएको छ ।

चुनावको क्रममा ट्रम्पले चुनाव जित्ने सुनिश्चित भएसँगै कसरी क्यानडा बसाई सर्ने भन्दै गुगल सर्च गर्ने क्रम तीव्र रुपमा बढेको थियो । यसरी सर्च गर्ने दर ५ सय प्रतिशत सम्मको वृद्धि भएको गुगल ट्रेण्डको तथ्यांकले देखाएको छ।

गुगल सर्चमा मात्र होइन अमेरिकाबाट क्यानडा बसाइँ सर्न थालेको भन्ने बारेका विभिन्न सोसल मिडिया पोस्ट गर्नेहरुको संख्या पनि पछिल्लो समयमा बढेको छ ।
कतिपय सोसल मिडिया पोस्टमा त क्यानडामा बसाइँ सर्नका लागि अमेरिकी नागरिकले अबलम्बन गर्नुपर्ने प्रक्रियाका बारेमा जानकारी समेत गराइएको छ ।

यसअघि सन् २०१६ मा डोनाल्ड ट्रम्पले पहिलोपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि पनि धेरै अमेरिकी नागरिकले अमेरिका छाडेका थिए । त्यसबेला अमेरिका छाड्ने अत्यधिक प्रयोगकर्ताका कारण क्यानडाको अध्यागमनको वेबसाइट नै क्रास भएको थियो ।