पाकिस्तानी ब्याटर शोएब मक्सूदले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने


काठमाडौं– पाकिस्तानका ब्याटर शोएब मक्सूदले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । ३७ वर्षीय ब्याटर मक्सूदलाई पाँचौं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनकपुर बोल्ट्सले जनाएको छ ।

मक्सूदले पाकिस्तानका लागि २९ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र २६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यस्तै उनले १ सय ७० टी–२० क्रिकेटमा तीन हजार नौ सय २८ रन बनाएका छन् ।

यसअघि जनकपुर बोल्ट्सले श्रीलङ्काली मूलका अमेरिकी क्रिकेटर लाहिरु मिलन्था, पाकिस्तानकै मुहम्मद मोहसिन, अमेरिकाका जोशुआ ट्रोम्प र न्युजिल्यान्डका जेम्स नीशमलाई अनुबन्ध गरेको थियो । जनकपुरको मार्की खेलाडी राष्ट्रिय टोलीका विकेटकीपर ब्याटर आसिफ शेख छन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायके छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।