कप्तान महतोको अलराउण्ड प्रदर्शनमा कुवेतमाथी नेपालको सानदार जीत


काठमाडौं– आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ ।

यूएईमा जारी खेलमा कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतमाथी फराकिलो जित हाँसिल गरेको हो । २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ४८ रनमै रनमा अलआउट गर्‍यो ।

नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन ओभरका साथै ८ रन दिएर ५ विकेट लिइन् । रचना कुमारी र सीमाना केसीले समान दुई÷दुई विकेट लिए ।

कुवेतका लागि जीफा जिलानीले ३६ रनको योगदान गरिन् । अन्य ब्याटरले भने कुवेतका लागि दोहोरो अंक जोड्न सकेनन् ।

यसअघि दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेटको क्षतिमा २१४ रनको लक्ष्य कुवेतसामु प्रस्तुत गरेको थियो । नेपालका लागि कप्तान पूजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे । उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे । यस्तै सावित्रि धामी ११ र सान प्रविनले ६ रन जोडे ।

कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एकएक विकेट लिए ।

प्रतियोगितामा हालसम्म नेपालले खेलेको पाँचमध्ये ४ खेल जितेको नेपाल यसअघि यूएईसँग मात्रै पराजित भएको छ । यूएईसँग नै नेपालले बुधबार अन्तिम खेल खेल्ने छ ।

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।