तस्बीर: क्यान
काठमाडौं– सन् २०२५ मा मलेसियामा हुने आइसिसी यू–१९ महिला टी–२० विश्वकप खेलमा नेपाल छनोट भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको निर्णायक खेलमा घरेलु टोलीमाथी फराकिलो जीत हात पार्दै नेपाल आइसिसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोट खेलमा छनोट भएको हो । विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ ।
हालसम्म दुई टोलीले खेलेको समान ६ खेलमा ५–५ खेलमा जीत हात पार्दै नेपाल र युएईले समान १० अंक जोडेका छन् । तर रन रेटमा युएईलाई पछि पार्दै नेपालले विश्वकप यात्रामा आफ्नो स्थान सुरक्षित गरेको हो । नेपालको रनरेट ३.९३ छ भने युएईले ३.७४ बनाएको छ ।
अजमानस्थित द सेभेन्स रंगशालामा टस हारेर ब्याटिङ गरेको घरेलु टोली युएईले नेपाललाई ८४ रनको सामान्य लक्ष्य दिएको थियो । जुन नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । योसँगै नेपालले पहिलो पटक विश्व कपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्व कपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।
नेपालको जितका लागि ओपनर साना प्रविनले ४२ बलमा ३५ रन बनाउँदै अविजित रहिन् । कप्तान पुजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । ओपनर साबित्री धामीले ९ बलमा १२ जोड्दा सोनी पाख्रीन ९ बलमा १३ रन जोड्दै अविजित रहिन्।
त्यसअघि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो । नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमा युएईले दिएको लक्ष्य पूरा गरिसक्नुपर्ने समिकरण रहेको थियो ।
युएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ बनाइन् । रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् । एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा ७ विकेट गुमाएको थियो ।
नेपालका लागि कृष्मा गुरुङले ४ सर्वाधिक चार विकेटि लिइन् । रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कप्तान पुजा महतोले ४ ओभरमा मात्र ११ रन खर्चेर उत्कृष्ट बलिङ गरिन् ।
यु १९ टि ट्वान्टी विश्व कप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुवरी सम्म मलेसियामा आयोजना हुदैछ । नेपाल विश्व कपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ । विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ ।
प्रतिक्रिया