काठमाडौं— भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले प्रथम संस्करणको एनपीएलका लागि अनुबन्ध गरेको हो । धवनले भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका छन् ।
धवन र कर्णाली याक्सबीच बिहिबार सम्झौैता भएको हो । सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ ।
३८ वर्षीय लेफ्ट ह्यान्ड ओपनर धवनले भारतीय राष्ट्रिय टोलीका साथै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सबाट खेलिसकेका छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए भने भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमध्येमा चिनिन्छन् ।
उनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् भने ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् ।
कर्णाली याक्सले धवनलाई चौथो विदेशी खेलाडीको रुपमा भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ ।
ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनाल, नन्दन यादवपनि यस टिममा रहेका छन् ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । त्यस्तै टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । एनपिएल मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया