काठमाडौं– नेपालले १३ वर्षपछि अफगानिस्तानलाई हराएको छ । ताजिकिस्तानमा भइरहेको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–० गोल अन्तरले हराएको हो ।
डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक–एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो ।
जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । रोहितले ७८औं मिनेटमा गोल थपे । यो गोल रोहितले नेपालका लागि करियरकै पहिलो गोलसमेत हो । उनले डेब्यू गरेको १५ वर्षपछि नेपालका लागि गोल पहिलो गोल गरेका हुन् ।
यसअघि नेपालले १३ वर्ष पहिला दशरथ रंगशालमा भएको खेलमा अफगानस्तानलाई हराएको थियो । २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई १–० ले हराएको हो । त्यस बेला नेपालका लागि भरत खवासले गोल गरेका थिए ।
नोभेम्बरको फिफा विन्डोमा दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान गएको नेपालले पहिलो खेल ताजिकिस्तानसँग खेलेको थियो । उक्त खेलमा नेपाल ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो ।
शनिबार अफगानिस्तानसँगको जीत नेपालले पुरुष फुटबल टोलीले एक वर्षपछि हात पारेको पहिलो जितसमेत बनेको छ। यसअघि फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोट अन्तर्गत २०२३ अक्टोबरमा प्रारम्भिक चरणमा लाओस विरुद्ध नेपालले जीत निकालेको थियो । लाओसलाई हराएपछि नेपाल ७ खेलमा जितविहिन थियो । विश्वकप छनोटको दोस्रो चरणमा ६ मध्ये ५ खेलमा पराजित नेपालले एक खेल बराबरी गरेको थियो ।
प्रतिक्रिया