काठमाडौं– यही मंसिर १५ गतेबाट सुरु हुन लागेको प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार एनपीलएको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ड्सबीच हुने भएको छ।
त्रिवि क्रिकेट मैदानमा मंसिर १५ गते हुने उक्त खेल दिउँसो १२ः१५ बजेहुनेछ। प्रतियोगिताका नियमित खेल भने मंसिर १७ गतेदेखि हुनेछन्। क्यानका अनुसार बिहान ९ः१५ बजे पहिलो खेल र १ः१५ बजे दोस्रो खेल हुनेछन्।
मंसिर १६ गते उपनिर्वाचनका दिन कीर्तिपुर नगरपालिकामा पनि निर्वाच्न हुने भएकाले सो दिन भने एनपीएलका कुनै खेल नहुने भएका छन् ।
मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्दा दोस्रो खेलमा जनकपुर र कर्णाली याक्स भिड्ने भएका छन् । मंसिर १८ गते भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा दोस्रो खेलमा चितवन राइनोज् र पोखरा एभेन्सर्ज भिड्नेछन्।
लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्ने क्यानले जारी गरेको तालिकामा उल्लेख गरिएको छ । लिगको शीर्ष दुईमा स्थान बनाउने टोलीले सिधै क्वालिफायर खेल्नेछन्।
तेस्रो र चौथो स्थानका टोलीले एलिमिनेटर खेल्नेछन्। एलिमिनेटर खेल पुस २ गते बिहान ९ः१५ मा हुने तालिका छ । यस्तै क्वालिफायरको खेल भने पुस ३ गते दिउँसो १ः१५ बजे हुनेछ।
क्यानका अनुसार क्वालिफायर १ मा पराजित भएको टोली र एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछन्। यो खेल पुस ४ गते दिउँसो १२ः१५ मा हुनेछ।
एनपीएलको फाइनल खेल पुस ६ गते शनिबार दिउँसो १२ः१५ बजेबाट सुरु हुने क्यानले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।
प्रतिक्रिया