हवाइज जहाजको टिकट किन्ने पैसा भएन, विश्वकप क्रिकेट खेल्न रेलमार्गबाट पाकिस्तान प्रस्थान


रुपन्देही– पाकिस्तानमा हुन लागेको टि–२० विश्वकप खेल्न नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिम पाकिस्तान प्रस्थान गरेको छ । नेत्रहीन टी–२० विश्वकपको चौथा संस्करणमा सहभागी हुन बुधवार नेपाली टिम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको हो ।

हवाइजहाजको टिकट किन्नको लागि रकमको अभाव भएपछि रेलमार्गबाट उक्त टोली पाकिस्तानमा जान लागेको हो । बेलहिया नाकाबाट प्रस्थान गरेको टोलीलाई हिजो रुपन्देही क्रिकेट सङ्घले बिदाई गरेको हो ।

पछिल्लो समयमा नेपालका टोलीहरुले क्रिकेटमा राम्रो प्रगती गरिरहेका छन् । राष्ट्रिय टोलीमा क्रिकेट खेल र खेलाडीका लागि सेवा सुविधा पनि बढ्दै गएको छ । यस्तो अवस्थामा नेत्रहीन टोली विश्वकप खेल्नको लागि हवाईजहाजको टिकट नपाएर गाडी र रेलबाट जानुपर्ने अवस्था असुहाउँदो भएको रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले बताएका छन् । तर टोलीले आफूहरु अभावमा भएपनि यसको खासै गुनासो नगरेको उनले बताए ।

यसअघि पनि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको थियो, चौतर्फी आलोचनापछि नेपाल क्रिकेट सङ्घसहितका निकायको सहयोगमा टोली जहाजमा नेपाल फर्किन पाएको थियो ।

बुधबार विश्वकप खेल्न प्रस्थान गरेको टिममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना सहभागी छन् । टिमले पाकिस्तानको लाहोर र मुल्तानमा नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म हुने विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।