Logo

स्टार स्पोर्ट्ससँगको सम्झौताबारे विज्ञापन बोर्डले क्यानसँग माग्यो जवाफ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टेलिभिजन स्टार स्पोर्ट्सले गर्नेगरि भएको सम्झौताबारे विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान) सँग जवाफ मागेको छ ।

स्टार स्पोर्टस्सँगको सम्झौताको प्रतिलिपिसमेत पेश गर्न निर्देशन दिँदै बोर्डले क्यानलाई शुक्रबार पत्र लेखेको हो । नेपाल विज्ञापन सङ्घ, राष्ट्रिय विज्ञापन सङ्घ नेपाल र मिडिया अलायन्स नेपालले उक्त सम्झौताविरुद्ध मंसिर सात गते विज्ञापन बोर्डमा उजुरी दिएका थिए ।

एनपीएलका खेलहरु ट्वान्टी फस्र्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनीमार्फत स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने कार्य अन्य कानूनहरुका अलावा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ विपरित भएको उनीहरुले दाबी गरेका थिए ।

विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन राखेर प्रसारण गर्ननपाउने कानूनी प्रावधान उल्लेख छ । उक्त प्रावधान क्यानले उल्लंघन गरेको भन्दै विज्ञापन बोर्डसँग जवाफ मागेको हो ।

बोर्डले क्यानलाई पठाएको पत्रमा लेखेको छ, ‘तहाँ संघले नेपाल प्रिमियर लिगका खेलहरू ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत स्टार स्पोर्टस च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने व्यबस्था गर्दा उल्लेखित कानूनी प्रावधान बमोजिम गरिएको छ वा छैन ? प्रत्यक्ष प्रसारणको व्यवस्था गर्दा खरिद सम्झौता वा एमओयू भएको भए सो को प्रमाणितप्रति संलग्न गरी विस्तृत व्यहोरा सहित यो पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र जवाफ पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्