विराटले अष्ट्रेलियाविरुद्ध छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते
काठमाडौं– अष्ट्रेलिया र भारतविच टेस्ट खेल अष्ट्रेलियाको पर्थमा जारी छ । जारी खेलको पहिलो टेस्ट म्याचको तेस्रो दिनमा भारतका ब्याटर विराट कोहलीले फास्ट बलर मिचेल स्टार्कको बलमा छक्का प्रहार गरेका थिए ।
विराटले प्रहार गरेको छक्का बाउन्ड्री नजिकै खसेको थियो । त्यहाँ सुरक्षाकर्मीबाउन्ड्री लाइनबाहिर बसेर उल्टो हेर्दै थिए । सोहि क्रममा बाउन्ड्रीमा खसेको बल उडेर सुरक्षाकर्मीको बायाँ तर्फको टाउकोमा ठोक्कियो ।
सुरक्षाको टाउकोमा बल लाग्नासाथ अष्ट्रेलियाको टोलीका फिजियो दौडिएर आएर उनलाई चेक गरे । स्पिन बलर नाथन लियोनले पनि सेक्युरिटी गार्डलाई भेटेर चोटको बारेमा जानकारी लिए ।
आफूले प्रहार गरेको बलले सुरक्षाकर्मी घाइते भएपछि विराट कोहलीको अनुहारमा पनि चिन्ताको भावना प्रष्ट देखिएको थियो । सुरक्षाकर्मीको स्वास्थ्य जाँच गर्नेक्रममा केही समय खेल रोकिएको थियो । अष्ट्रेलियाका फिजियोले सबै कुरा ठीक भएको बताएपछि खेल पुन सुरु भएको थियो ।
उक्त खेलसँगै विराट कोहलीले टेस्ट खेलमा अष्ट्रेलियाको भूमिमा चौथो छक्का हानेका छन् । विराटले पछिल्लो पटक सन् २०१८ मा अस्ट्रेलियाको मैदानमा छक्का प्रहार गरेका थिए ।
अष्ट्रेलियाको भूमिमा सचिन तेन्दुलकरपछि सबैभन्दा धेरै रन बनाउने भारतीय ब्याट्सम्यान विराट कोहली हुन् । यस्तै अष्ट्रेलियाविरुद्ध सर्वाधिक रन बनाउनेमा भारतीय ब्याट्सम्यानमध्ये चौथो स्थानमा छन् ।