सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा सिके राउत


काठमाडौं– डा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । कांग्रेस–एमालेले मधेश प्रदेशको सरकारबाट जनमतलाई विस्थापित गर्ने तयारी गरेको सुईंको पाएपछि राउतले पनि केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् ।

उनी कम्बोडिया भ्रमणमा भएकोले निर्णय लिन केही ढिलाई भएको बुझिएको छ । तर, उनी आजै काठमाडौं ओर्लिएकाले भोलिसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने उच्च स्रोतको दाबी छ । आजमात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश सरकारको नेतृत्व परिवर्तन गर्नेबारे एमालेसँग पनि छलफल गरेर निश्कर्षमा पुग्ने टिप्पणी गरेका थिए ।

राउतले केन्द्र सरकारसँग अन्तुष्टि राख्नुको कारण भने पार्टीले आफ्नै सांसद गोमालाभ सापकोटालाई कारबाही गर्न पटक पटक सिफारिश र ताकेता गर्दापनि सभामुख देवराज घिमिरेले नमान्नु रहेको छ । सभामुख घिमिरेले सापकोटालाई कारबाही गर्न नमिल्ने निर्णय सुनाएपछि राउत असन्तुष्ट छन् । यही विषयले उनी केन्द्र सरकारसँग फायर छन् । प्रधानमन्त्री ओली भने अर्को साता चीन भ्रमणमा निस्किन लागेका छन् । भ्रमणको पूर्वसन्ध्यामा राउतले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दबाब सिर्जना गर्न खोजेका छन् ।