राति १२ बजेदेखि उपनिर्वाचन हुने स्थानमा मौन अवधि सुरू हुँदै


 

काठमाडौं– आज मध्यरातबाट उपनिर्वाचन हुने स्थानमा मौन अवधि सुरू हुँदैछ। मंसिर १६ गते आइतबार हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरू हुन लागेको हो। मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ ।

मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।

निर्वाचन आयोगले मौन अवधिमा उम्मेदवार वा अरु कोहीले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न नपाउने जनाएको छ। आगामी आइतबार ४१ पदका लागि मतदान हुँदैछ। विभिन्न स्थानमा हुने मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन्।