पहिलोपटक सेमिफाइनलमा पुगेको नेपालको टुङ्गियो विश्वकप यात्रा


काठमाडौं– दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालको यात्रा टुङ्गिएको छ । पाकिस्तानमा जारी प्रतियोगितामा सेमिफाइनलमा पुगेको नेपालले घरेलु टोलीसँग हार व्यहोर्दै यात्रा टुङ्गिएको हो ।

पहिलोपटक सेमिफाइनलमा स्थान बनाएको नेपाल आइतबार पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।

नेपालले पाकिस्तानलाई ९५ रनको लक्ष्य दिएको थियो । जुन पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । पाकिस्तानका लागि कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए भने बाबर अलीले ३२ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए । उता पाकिस्तानका मतिउल्लाहले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिए ।

समूहचरणको पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो भने अन्तिम खेलमा पाकिस्तानसँग नै १० विकेटले पराजित भएको थियो । हालसम्म अविजित रहेको पाकिस्तान विश्वकप उपाधिको दाबेदार मानिएको छ ।