काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार भएको पहिलो खेलमा चितवन राइनोजले जीत आफ्नो नाममा गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलिएको खेलमा चितवन रनाइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको हो ।
जारी प्रतियोगितामा चितवन राइनोज र काठमाडौँ गुर्खाज दुवैले आफ्नो पहिलो खेल खेलेका हुन् । टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँ गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो ।
११२ रनको लक्ष्य पाएको चितवन राइनोजले भने १७.१ ओभरमै केवल पाँच विकेट गुमाएर एक सय १४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । चितवन राइनोजका लागि छैटौँ नम्बरका ब्याट्सम्यान सन्तोष कार्कीले अविजित रहँदै सर्वाधि २८ रनको योगदान गरे ।
अकौ ब्याट्सम्यान शरद भेषावकरले पनि २१ बलमा ११ रन बनाउँदै अविजित रहे । यस्तै लुक बेनकेन्स्टाइनले २२ रन बनाउँदा ओपनर ब्याट्सम्यान हसन इशाखिलले १२ रनको योगदान गरे ।
यस्तै कप्तान कुशल मल्लले ११ रन, ओपनर दीपक बोहराले सात, रवि बोपारा ११ रन बनाउँदै आउट भए ।
काठमाडौँ गुर्खाजका लागि बलर साहब आलमले चार ओभरमा २० रन खर्चिएर तीन विकेट लिए । जेरहार्ड एरास्मस र डन डउथवेटले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि ब्याटिङ गरेको काठमाडौँ गुर्खाजनका ओपनर ब्याट्सम्यान माइकल लेभिटले २५ रनको योगदान गरे । सुमित महर्जनले २९ रन बनाए । यस्तै डन डउथवेटले पनि १८ बलमा अविजित १९ रन जोडे ।
यस्तैशंकर रानाले १६ रन बनाए । काठमाडौंका अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । दीपेश कँडेल एक रनमा अविजित रहे ।
चितवन राइनोजबाट खेलिरहेका पाकिस्तानका तीव्र गतिका बलर सोहेल तनवीरसामु काठमाडौँ गुर्खाजका ब्याट्सम्यानहरू निरीह देखिएका थिए । ३९ वर्षीय बायाँहाते बलर तनवीर एक्लैले पाँच विकेट लिएका थिए ।
सोहेल तनवीरले चार ओभरमा केवल २१ रन खर्चिए । उनले काठमाडौँ गुर्खाजका ओपनर ब्याट्सम्यान स्टिफन एस्किनाजी (दुई रन), माइकल लेभिट, भीम सार्कीलाई (एक रन), कप्तान करण केसी (एक रन) र साहब आलम (एक रन) को विकेट लिए ।
चिनवन राइनोजका बलर रिजन ढकाल, कुशल मल्ल, अमरसिंह रौतेला र लुक बेनकेन्स्टाइनले पनि एक–एक विकेट हात पारे ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको एनपीएलमा सोमबारको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच खेलिने छ । जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले दोस्रो र कर्णाली याक्सले पहिलो खेल खेल्न लागेका हुन् ।
अनिल कुमार साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले शनिबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो । पुस ६ गतेसम्म चल्ने एनपीएलमा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया