काठमाडौं– कप्तान अनिल शाहले शानदार अर्धशतकसँगै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।
ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको सुनिश्चितता तय गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।
यस्तै लाहिरु मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए । जिम् नीशमले अविजित १६ रन योगदान गरे ।
कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले भने सुरुवातमा निराशाजनक प्रदर्शन गरेको थियो । तर खेलको अन्तिम दुई ओभरमा अर्जुन घर्ती र कप्तान सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ४३ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको थियो। अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडेका थिए ।
नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए । भारतिय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका विदेशी खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । एक खेलको ४० लाख पारिऋमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।
चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिएका थिए । यस्तै किशोर महतो, ललित राजवंशी, हर्स थाकेर र जेम्स निसामले एक एक विकेट लिए ।
प्रतिक्रिया