नेपाल प्रिमियर लिगमा सट्टेबाजी, चार भारतीय नागरिक पक्राउ, सीआईबीले गर्दैछ अनुसन्धान


त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) का क्रममा सट्टेबाजी गराएको आरोपमा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटीका अनुसार, पक्राउ पर्नेमा कलकत्ताका सुमन घोष (२४), उत्तर प्रदेशका अमित यादव, र बिहारका सुमन्त कुमार (२७) र ब्रजेश कुमार (३०) रहेका छन्।

प्रहरीले आरोपीहरूले स्पोर्टस् बाजी र प्रोबो नामका एपहरूको प्रयोग गरेर सट्टेबाजी गराउँदै आएको पत्ता लगाएको छ। प्रारम्भिक अनुसन्धानले उनीहरूले मैदानभित्रै बसेर सट्टेबाजी गराएको खुलासा गरेको छ।

पक्राउ परेका चारजनाको साथबाट ६ थान मोबाइल बरामद गरिएको छ। ती मोबाइललाई थप प्रमाण जुटाउनका लागि फरेन्सिक जाँच गर्न प्रहरीको ल्याबमा पठाइएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धान सकाएपछि आरोपीहरूमाथि कानुनी कारबाही अघि बढाउने बताएको छ। यस घटनाले खेलकुद क्षेत्रमा सट्टेबाजी गतिविधि बढ्न सक्ने चिन्ता उजागर गरेको छ।