एनपीएलमा शिखर धवनको अर्धशतक, काठमाडौँ गुर्खाजका सामु १५० रनको लक्ष्य प्रस्तुत


काठमाडौं– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजलाई कर्णाली याक्सले १५० रनको चुनौती पेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोड्यो ।

कर्णालीका लागि भारतीय खेलाडी शिखर धवनले शानदार ब्याटिङ गरे । पहिलो खेलमा चल्न नसकेका धवनले आजको खेलमा भने धुँवादार ब्याटिङ गर्दै ७२ रन जोडे । ५१ बलको सामना गरेका उनले ४ चौका र ५ छक्का हिर्काए । धवनले हिर्काएको अर्धशतक यस सिजनको एनपीएलको छैटौं अर्धशतक हो ।

उनीअघि जनकपुर बोल्ट्सका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए । विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका रवि बोपाराले पनि अर्धशतक बनाएका थिए ।

८४ रनमा ५ विकेट गुमेपछि धवनले जीशान मकसुदसँग मिलेर अविजित ६५ रनको साझेदारी गर्दै कर्णालीलाई मध्यम योगफलसम्म पुर्‍याएका हुन् । बलिङतर्फ काठमाण्डुका जेरार्ड एरासमसले २ विकेट लिए भने दिपेश कँडेल, करण केसी, नाथन सोटरले १(१ विकेट लिए । काठमाडौं । कर्णाली दुवैले पहिलो खेल हारेको हुँदा आज सुखद सुरुआत गर्न चाहन्छन् ।