लोकेशको शानदार व्याटिङमा विराटनगर किंगसको पहिलो जीत, लुम्बिनी दुई विकेटले पराजित


काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ । आज भएको खेलमा लुम्बिनी लायन्समाथि दुई विकेटको सनसनीपूर्ण जित निकाल्दै विराटनगरले पहिलो जित दर्ता गरेको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

विराटनगरको जितमा ओपनर लोकेश बमले शानदार ब्याटिङ गरे । ४६ बलको सामना गरेका लोकेशले ६ चौका र ३ चौकाको मद्दतमा ७१ रन जोडे । बसिर अहमदले ४० रन थपेको खेलमा मार्टिन गप्टिलले २८ रन जोडे । क्रिस सोलले अन्तिम ४ बलमा अविजित १४ रन जोड्दा दिपक बोहोराले ११ रन थपे ।

लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट झारे। साद विन जफर र रामोन सिमोन्डले समान दुई विकेट लिए। विवेक यादवले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो । जारी एनपीएलमा सबैभन्दा उच्च स्कोरको लक्ष्य दिँदै १९२ रनको लक्ष्य पेश गरेको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै इंग्लयाण्डका टम मुर्सले ३० रन जोडे । विवेक यादवले ७ बलमा अविजित १९ रन बनाए । अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन सफरले समान १५ रन जोडे भने सन्दिप जोराले १२ रन बनाए ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मात आलमले समान १ विकेट लिए ।