जनकपुर बोल्ड्सको ह्याट्रिक, पोखरा एभेन्जर्स सात विकेटले पराजित


काठमाडौं– काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ड्सले लगातार तेस्रो जीत निकालेको छ । पोखरा एर्भेन्जर्सलाई ७ विकेटले पराजित गर्दै एनपीएलमा जनकपुरले ह्याट्रिक पुरा गरेको हो ।

पोखराले दिएको १३८ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ बल बाँकी रहँदै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । जनकपुरलाई ह्याट्रिक जित दिलाउन लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन जोडे । ३२ बलको सामना गरेका उनले ८ चौका हिर्काए । १९ बलको सामना गरेका जिमी नीशमले ४ चौकाको मद्दतमा नटआउट रहँदै ४० रन हिर्काए । मार्की खेलाडी आशिफ शेख ३३ रनमा आउट हुँदा हर्श थाकरले १७ रन थपे ।

पोखराका लागि कप्तान कुशल भुर्तेल, विपिन खत्री र माइकल लिस्कले समान १ विकेट लिए । यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो ।

पोखराका लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५ रन बनाए । यस्तै, माइकल लिस्कले २५, एण्ड्रियस घोसले २०, रेमोनले १७ रन बनाए ।

३ नम्बरमा ब्याटिङ गर्न आएका कुशल भुर्तेल ६ रनमा आउट हुँदा दिलीप नाथ ११ र दिनेश खरेल १० रनमा समेटिए । बलिङतर्फ ललित राजवंशीले ३ विकेट लिए । जेम्स नीशमले २ विकेट लिँदा किशोर महतो र मोहम्मद मोसिनको नाममा १–१ विकेट रह्यो ।