काठमाडौं– करिब एक महिना पहिले कञ्चनपुरको लालझाडी गाउँपालिका– १, बिनबारीमा भएको दम्पत्ती हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।
सोही स्थानका ५० वर्षीय गंगाबहादुर रानालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । अदालतसँग १० दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले पुष्टी गरेको छ ।
एक महिना लामो अनुसन्धानपछि रानालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । गत कात्तिक ८ गते बिहान रमेश बडायक र उनकी श्रीमती कमला मृत भेटिए । रमेश घरको आँगनमा मृत भेटिएका थिए भने उनकी श्रीमती कमला बरण्डामा सुतेकै ठाउँमा मृत भेटिएकी थिइन् । रमेशको टाउको र कमलाको टाउको तथा निधारमा समेत धारिलो हतियार प्रहार गरिएको थियो । यी दम्पत्ती घरमा नै नास्ता पसल सञ्चालन गर्दै आएका थिए ।
घटनाको हालसम्म भएका अनुसन्धानले लुटपाट भन्दा पनि मदिरा सेवनपछिको विवादका कारण दम्पत्तीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया