धनुषामा महिलाको विभत्स हत्या, खेतमा भेटियो शीरछेदन भएको शव


जनकपुर– धनुषाको विदेह नगरपालिका ५ मुरिबा टोलमा एक महिलाको विभत्स हत्या भएको छ । ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो ।

शीरछेदन भएको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको थियो । उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ । शरीर नग्न अवस्थामा थियो । शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत बगेको देखिएको छ ।

मृतक महिला मंगलबार दिउँसो घाँस काट्न भनेर घटबाट निस्किएकी थिइन् । तर साँझसम्म घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो । घटनाको भोलीपल्ट उनको लाश विभत्स अवस्थामा फेला परेको हो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियो । अहिले एक जनालाई मात्र हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको धनुषा प्रहरीले जनाएको छ । मृतक महिलाका श्रीमान लामो समयदेखि वैदेशिक रोजागारमा छन् ।