२०२५ मा अमेरिकामा हुने फिफा क्लब विश्वकपको तालिका सार्वजनिक


काठमाडौं– लिओनल मेसीको नेतृत्वमा रहेको इन्टर मियामीले २०२५ मा हुने फिफा क्लब विश्वकपको उद्घाटन खेल इजिप्टको क्लब अल–अहलीविरुद्ध खेल्ने भएको छ।

इन्टर मियामीले आगामी जुन १५ मा फ्लोरिडाको मियामी गार्डेनस्थित हार्ड रक स्टेडियममा आफ्नो पहिलो खेल खेल्ने भएको हो । ३२ क्लब समावेश हुने प्रतियोगितामा चार–चार टोलीका आठ समूह छन्।

प्रत्येक समूहबाट शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्। समूह ‘ए’ मा इन्टर मियामीसँगै ब्राजिलियन क्लब पाल्मेरास, पोर्चुगलको पोर्टो र अल–अहली छन्।

समूह ‘बी’ मा पेरिस सेन्ट जर्मेन (पिएसजी), एट्लेटिको मड्रिड, ब्राजिलियन टोली बोटाफोगो र मेजर लिग सकर (एमएलएस) को सिएटल साउन्डर्स छन्। यस्तै, समूह ‘एच’ मा रियल मड्रिड, साउदी क्लब अल–हिलाल, मेक्सिकोको पाचुका र अस्ट्रियाको साल्जबर्ग छन्।

प्रतियोगितामा म्यानचेस्टर सिटी, बायर्न म्युनिख, रियल मड्रिड, चेल्सी, इन्टर मिलान, बोरुसिया डर्टमुन्डजस्ता युरोपका शीर्ष क्लबहरूले भाग लिँदैछन्। दक्षिण अमेरिकाबाट फ्लामेन्गो, रिभर प्लेट, फ्लुमिनेन्सजस्ता चर्चित टोलीहरू पनि समावेश छन्।

क्लब विश्वकप २०२५ जुन १५ देखि जुलाई १३ सम्म अमेरिकाका ११ सहरका १२ स्टेडियममा हुनेछ। फाइनल खेल न्यूजर्सीको मेटलाइफ स्टेडियममा हुनेछ, जसले २०२६ को फिफा विश्वकप फाइनल पनि आयोजना गर्नेछ।

मेसी र इन्टर मियामीका लागि यो प्रतियोगिता ठूलो अवसर रहेको बताइएको छ । फुटबलप्रेमीहरूले यो प्रतियोगितालाई विश्वभरका उत्कृष्ट खेलाडीहरूको जमघटको रूपमा लिने अपेक्षा गरिएको छ।